सपनाको वास्तविक यात्रा
सानो हुँदा,
निद्रामा शब्दहरु देख्थे,
आश लाग्थ्यो तीनले पुरा पार्लान -
सपना ।
ती त अलमलमा छन्,
दिशाविहीन युवाले कल्पेको ।
अपुरा छन्,
गाउँका घरहरुजस्तो ।
अचेल पनि,
देख्छु शब्दहरु
इतिहासको पानामा बस्ने लक्ष्य तिनको,
वाक्य बन्ने आकांक्षा ।
तर,
ती महत्वाकांक्षी शब्दहरु
भईसके अर्कै ।
यो संसार पसे,
भोका हातहरुले लुछे,
क्षत् - विक्षत् ।
राति सपनाको घरमा देख्छु शब्दहरु ।
धेर भएर फ्याँकेको भात जस्तो,
भोलि खान्छु भनि राख्दा,
आज गन्हाएर तिरस्कार गरे जस्तो ।
जता ततै छरिएको,
हप्तौं नाफ्याँकेको किचनको फोहोरजस्तो ।
अचेल,
अवचेतनमा हैन,
अचेतमा बस्ने सम्झनाजस्तो,
कहिले काँही बाहिर निस्कन्छन्
निकाल्दै पटपट आवाज ।
ती शब्दहरु,
अर्कै भईसके
कंकाल - बनिसके अक्षरहरु ।
ती अक्षरहरु,
कहींले काहीं सपना नाघेर,
यो खालि कागजहरुसंग,
वार्तालाप गर्न आउँछन्,
भूतपूर्व प्रेमिलाई सम्झिने
boyfriend जस्तो
कुरा गर्छन्, शब्दहरुको ।
दुःख, पिडा, रक्सि, खुशी
सबै पोख्छन् ती अक्षरहरु ।
अनि वास्ताविकता बन्छन्
ई कागजहरूमा ।
जहाँ सपना सत्यता हुँदैन ।



Comments
Post a Comment