मात्र एउटा चुनाव

 हाम्रो दृष्टि खोसिएको हो, हामी अन्धो हैनौँ।

जिब्रो थुतिएको हो, लाटो हैनौँ।

हात बाँधिएको हो, कैदी हैनौँ ।

चेतना खोसिएको हो, सपना नदेख्ने हैनौँ।

आशा मारिएको हो, निराशावादी हैनौँ ।

शिथिल बनाइएको हो, कमजोर हैनौँ ।



सडकको इतिहास थियौँ, भविष्य हौं,

समय खोसिएको हो ।


हामी यो थिएनौँ

हाम्रो त्यो खोसिएको हो ।


अब,

उठ र सुङ्घ त्यो सडक 

जसमा शहीदको रगत अझै गन्हाउँछ - सिनो झैँ।

इतिहास हेर,

कुहिएका पानाले

कसरी देश गन्हाएको छ - सिनो झैँ।

सुन, चित्कार सुन्छौँ जता ततै - चेलीको

उनीहरूको न्याय गन्हाएको छ - सिनो झैँ।


हेर जन युद्ध

जनता मरेको दिवस मनाउँछन्

हरेक साल

जसले लाशमाथि

आफ्नो सन्तुष्टिको लागि

हस्त मैथुन गर्यो ।

त्यो लाश गन्हाउँदैन तिमीलाई?

त्यो मान्छेले रिस उठाउँदैन तिमीलाई?


हामीलाई न्याय भुल्न लगाइएको हो

देश भक्ति देखि घिन लगाइएको हो

विदेशी बनाइएको हो

हामी नेपाली थियौँ।


अब फेरी नेपाली बनौ ।

"हामी नेपाली" भनौं।


Comments